Bidur Municipality-2, Bidur, Nuwakot, Nepal
स्वच्छ खानेपानी र सरसफाई हाम्रो प्रतिबद्धता समुदायको सहयोग, समृद्धिको आधार

About Us

परिचय: विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था

विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था नुवाकोट जिल्लाको विदुर नगरपालिकामा स्वच्छ, सुरक्षित र सुलभ खानेपानी सेवा उपलब्ध गराउँदै आएको एक प्रतिष्ठित सेवामूलक सामुदायिक संस्था हो। विक्रम संवत २०५२ सालमा स्थापना भई तीन दशक लामो गौरवमय इतिहास बोकेको यस संस्थाले स्थानीय उपभोक्ता, नागरिक समाज, स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको निरन्तर सहयोगमा आजको यो सबल स्वरूप ग्रहण गरेको हो। हाल यस संस्थाले विदुर नगरपालिकाका वडा नं. १, २, ४, ५, ६, ८ र ९ का मुख्य बजार क्षेत्र र आसपासका करिब ४,८०० घरधुरीका २५ हजारभन्दा बढी जनसङ्ख्यालाई प्रत्यक्ष रूपमा स्वच्छ खानेपानी पुर्‍याउँदै आएको छ भने वडा नं. ९ को प्लाष्टर क्षेत्रमा सेवा विस्तारको कार्य द्रुत गतिमा अघि बढाइरहेको छ। नाफामूलक नभई पूर्ण रूपमा उपभोक्ताको हित र सेवामा समर्पित यस संस्थामा हाल २१ जना दक्ष कर्मचारीहरू कार्यरत छन्, जसले नगरबासीको घरदैलोमा २४ सै घण्टा खानेपानी सेवा सुनिश्चित गर्न अहोरात्र काम गरिरहेका छन्।

हाम्रा जलश्रोत, आपूर्ति क्षमता तथा पूर्वाधारहरू

उपभोक्ताहरूलाई हिउँद तथा वर्षा दुवैयाममा बिनाअवरोध खानेपानी आपूर्ति गर्न संस्थाले प्राकृतिक र भूमिगत दुवै प्रकारका पानीका स्रोतहरूको कुशल परिचालन गरिरहेको छ। हाम्रो मुख्य आपूर्ति प्रणाली ‘ग्र्याभिटी फ्लो’ (Gravity Flow) मा आधारित छ, जसमा नलगाउँ मुहानबाट प्रतिसेकेन्ड ५ लिटर र फलाँखु खोला मुहानबाट प्रतिसेकेन्ड ८० लिटर पानी आपूर्ति भइरहेको छ। वर्षात्को समयमा बाढी र पहिरोका कारण मुहानहरू धमिलिने र क्षतिग्रस्त हुने समस्यालाई मध्यनजर गर्दै संस्थाले बलियो वैकल्पिक व्यवस्था समेत तयार गरेको छ। यस अन्तर्गत देवीघाट प्राधिकरण किनारका २ वटा बोरिङबाट १५ लिटर प्रतिसेकेन्ड, ढुङ्गेको कृषि विकास शाखा परिसरबाट ५ लिटर प्रतिसेकेन्ड र हालसालै खानेपानी विभागको ११ करोड ४४ लाखभन्दा बढीको विशेष बजेटबाट तादी खोला किनारमा निर्मित ‘सम्पवेल’ आयोजनाबाट थप ८0 लिटर प्रतिसेकेन्ड पानीको सफल परीक्षण भइसकेको छ। यो सम्पवेल प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएसँगै नगरबासीले वर्षायाममा भोग्दै आएको धमिलो पानी र खानेपानीको अभावबाट सदाका लागि मुक्ति पाउने सुुखद आधार तयार भएको छ।

संस्थागत सुधार, पारदर्शिता र प्रविधिको प्रयोग

संस्थाको आर्थिक तथा प्रशासनिक क्रियाकलापलाई पूर्ण रूपमा पारदर्शी र उत्तरदायी बनाउन हामीले परम्परागत ‘ढड्डा प्रणाली’ लाई विस्थापित गर्दै सम्पूर्ण स्रेस्ता र बिलिङ व्यवस्थालाई कम्प्युटराइज्ड प्रणालीमा रूपान्तरण गरेका छौँ। उपभोक्ताहरूले घरमै बसेर अनलाइन माध्यमबाट खानेपानीको महसुल भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ भने संस्थाका तर्फबाट हुने सामान खरिद र ढुवानीलाई कोटेशन विधि, भ्याट बिल र बैंक चेकमार्फत मात्र भुक्तानी गर्ने गरी कडा पारदर्शी नियम लागू गरिएको छ। गुणस्तरीय पानी वितरणका लागि विदुर, बट्टार र नलगाउँका ट्याङ्कीहरूमा ‘पिल्लर मिडिया’ को पूर्ण उपयोग गर्दै ब्लीचिङ पाउडर र आल्मको उचित मिश्रण सुनिश्चित गरिएको छ। उपभोक्ताको हितलाई सर्वोपरि ठानी संस्थाले मिति २०८२ साल भदौदेखि लागू हुने गरी न्यूनतम मासिक शुल्क रु. ३०० बाट घटाएर रु. २५० कायम गरेको छ। यसका साथै, नगर विकास कोषको ऋण भुक्तानीमा समेत संस्थाले उत्कृष्ट वित्तीय अनुशासन कायम राख्दै यसै वर्ष मात्र रु. १ करोड १९ लाखभन्दा बढी भुक्तानी गरिसकेको छ

सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागिता

हामी केवल पानी वितरण गर्ने निकाय मात्र नभएर समाजको सुख-दुःखको सारथी पनि हौँ। यही भावना अनुरूप संस्थाले यस वर्षदेखि आफ्नो कार्यक्षेत्र भित्रका नुवाकोट आदर्श बहुमुखी क्याम्पस, सरकारी विद्यालयहरू, विभिन्न मठ-मन्दिर, गुम्बा, मस्जिद, चर्च तथा किरियापुत्री भवनहरू जस्ता सार्वजनिक एवं पवित्र स्थलहरूलाई मासिक १५ युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराएर आफ्नो सामाजिक उत्तरदायित्व (CSR) वहन गरिरहेको छ। त्यस्तै, खानेपानीको दिगो व्यवस्थापन र दुरुपयोग नियन्त्रणका लागि स्थानीय स्तरमा उपभोक्ताहरूकै नेतृत्वमा ‘खानेपानी सुरक्षा समूह’ गठन गरिएको छ। हालसम्म कार्यक्षेत्र भित्र ६० वटा यस्ता समूहहरू गठन भई करिब १,८०० घरधुरी आबद्ध भइसकेका छन्। यी समूहहरूले संकलन गरेको महसुलको १० प्रतिशत रकम उनीहरूकै बैंक खातामा फिर्ता गरी समुदायभित्रै न्यून ब्याजदरमा ऋण लगानी गर्ने र बचत गर्ने बानीको विकास समेत गराइएको छ, जसले उपभोक्ता र संस्थाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ

हाम्रा चुनौती र आगामी प्रतिबद्धता

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको मौलिक हक प्रत्याभूत गरेको छ, जसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी राज्यका तीनै तहका सरकारहरूसँग निरन्तर समन्वय गरिरहेका छौँ। आगामी दिनमा विदुर नगरपालिकाले नगर विकास कोषको ऋणको दायित्व व्यवस्थापन गरिदिएको खण्डमा सम्पूर्ण नगरबासीलाई १० युनिटसम्म खानेपानी पूर्ण रूपमा निःशुल्क वितरण गर्ने हाम्रो दीर्घकालीन लक्ष्य रहेको छ। प्राकृतिक प्रकोप, सडक विस्तारका क्रममा हुने पाइपलाइन क्षति र बेत्रावती बजार नजिक पहिरोको जोखिममा रहेको मुख्य पाइपलाइनको संरक्षण जस्ता थप चुनौतीहरू हाम्रासामु अझै विद्यमान छन्। यी चुनौतीहरूलाई चिर्दै ३६५ दिन नै उपभोक्ताको भान्छामा स्वच्छ र गुणस्तरीय खानेपानी पुर्‍याउन, संस्थाको साधन र स्रोतको कुशल व्यवस्थापन गर्न तथा उपभोक्ताका गुनासाहरूलाई तत्काल प्राविधिक टोलीमार्फत सम्बोधन गर्न विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सदैव प्रतिबद्ध छ